Featured Post
बर्बरता
बर्बरता मिलनका निम्ति आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग बरू बचेर जानु कतै हामीले लगाएको बर्बरता ले तिम्रो गुलावी मुटु न...
Sunday, January 6, 2019
जीवन-वस्तु
म देख्दछु
अन्ध भौतिकताको दौड
चैतन्य दृष्टिमा अन्ध आधुनिकताको
कालो पट्टि बांधिएको सभ्यता
कुनै समय पग्लिने हृदयले
करुणाको अस्तित्व गुमाएर
हरेक मुटु पत्थरका हृदय बनेको
जहाँ
करुणा र प्रेमको बगैंचामाथि
जड आधुनिकताको संबेदनहिन छालहरु प्रवेश गर्छन
र मर्छन अस्तित्व करुण मानवताका पालुवाहरुको
म देख्दछु टुलुटुलु रसाएका आंखाहरुले
ब्रम्हमुहुर्तमा टोलबाहिर निस्किंदा
फ्रेस हाउसका भित्र
निमुखा जीवहत्या
केवल स्वादका लागि?
अट्टहासका साथ मारिंदै छन्
ति अबोध जीवनहरु
निर्दयी, निरंकुष र अपराधी बनेर सृष्टिको
यो मानव भन्ने अमानव संस्कार
केवल चोक्टा-चोक्टाका रस चुस्न
जीवन मेटाएर
तिनैका छाला, रौँ र आन्द्रा भुँडीले
आफ्ना बस्तु र प्रयोगशाला सजाउन
प्राण काटिएका रक्तभेलहरुमा
मनोरञ्जनका अट्टहास र नृत्य निम्त्याउन
बर्बरताको सिमा नाघेका अमानव हृदयहरुले
केवल हत्या र शोषण गर्न
जीवनलाई कैदमा पालन पोषण गर्दै छन्
मानव जगतका
करुणा र प्रेमका लहरले
ति छालहरुले यो मेट्न सकेनन भने
बर्बरताको छातीमा प्रेमका गुलाव नफुलाउने हो भने
जसरी आज जीवन-हत्या र शोषणमा
जगत जग्मगाएको छ
म देख्दै छु त्यो भविष्य
जे आज भैरहेको छ
त्यो कालचक्रमा पुनः
मानवले मानवलाई नै गर्ने छ
मानवले मानवको रक्त कुण्ड बनाउने छ
र मानवनै कैदमा पालिने छ
मानव मार्फत नै
आमाका कोखहरु
ज्याकेट, टोपी, जुत्ता र पेटि
बनाउन रित्तिने छन कतै भने कतै
युवा-युवतीहरु चोक्टाका लागि काटिने छन्
डेरी फार्महरुमा , ओवनमा
गाई, भैंसी, सुंगुर र कुखुराको ठाऊँमा
मानवले मानवलाई नै राख्ने छ
मानवका काटिएका अंगहरुले
आफ्नै प्रयोगशाला सजाउने छ
म देख्दै छु त्यो भविष्य
जहां यस्तै यस्तैलाई कानुनी मान्यता दीइनेछ
र अन्ततः
डाइनोसोरजस्तै
मानव आफ्नो प्रजाती आँफै सिध्याउने छ
जग जगमग भन्दा पनि
आशाको एक दियो देखियोस्
ति हृदयहरुमा
कि मानव प्रेमको सभ्यतामा
स्नेहको वासनासंगै जीवनरक्षाको सुक्ष्म चेतना
विजारोपण होउन मानवमा
र लागोस मानव सभ्यता
सृष्टि र जीवन रक्षामा
Subscribe to:
Posts (Atom)