Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Saturday, April 25, 2020

गहिराई



म​
औँसीको रातमा
ताराहरुको बात सुन्न​
अनि
आकाशको सुन्यतामा समाउन​
गौचरणमा लम्पसार परेर सुतेँ
पलभरमै
सुर्यका किरणहरुले क्षितिजबाटै
रङ्ग बर्साएर भने
"ए तेरो रात सकियो"
खैर
जीवनको सिमानामा जो बाँधिएको थिए


Wednesday, April 22, 2020

आमा

सम्पूर्ण आमाहरुमा समर्पित​

मेलाखर्चलाई
आमाले
पोको पारेको एक घान मकै खाँदै
आमाको भारीमाथि चढिहिड्ने हामी
आमा भोक लाग्यो ? भनेर कहिल्यै सोधेनौँ
हामीले आमाको मुख​
कहिल्यै हेरेनौ
 हेरेको भ​ए
आमाका भारीहरु
हामी आफै बोकिदिन्थ्यौँ होला

आमा
पृथ्वीझैँ घुमिरहिन​
हाम्रा सपना हेतु
पैतलाले धाँजा फाटेर​
ढुङ्गा टिपेपनि
आमा
डल्ले चौपारीमा कहिल्यै बिसाइनन​
आमाले इश्वरसंग​
कहिल्यै मागिनन आफ्ना लागी
सुखका वरदानहरु

के आमाका भावनामा
सुखका ज्वारभाटाहरु कहिल्यै पलाएनन​
या
आमाका सपनाहरु सबै
भष्मासुरका ग्रन्थमा परे
हामीले कहिल्यै सोधेनौ
आमाका सपनाहरु

आमाको औँला समाएर
जीवनको यात्रा सुरु गरेका हामी
आमा
आज त्यहि बुढो झ्यालबाट​
त्यहि गोरोटो हेर्दैछिन
जहाँ हामी हिड्थ्यौँ
हात समाउन आउलान कि भनेर​
आमाको मुख हेर्ने दिन​

Monday, April 13, 2020

नववर्ष​


छोरी
तिमी जन्मिदा
हामीसंग​
आवश्यकताका ठूला खाडल​
अनि सपनाका सगरमाथा थिए
तिमी आयौ
हामीले सबै बिर्सियौँ

खन्यौँ
तिम्रो भविष्यका गोरेटो
आगनको डीलमा
जीवनको थकानले लट्ठी टेक्दा
तिमी
नेपथ्यबाट फर्किएर एकपल्ट हाँस्नु है

Friday, April 10, 2020

समय​


हिऊँदे
हिऊँको छिर्को
केशमा नपुग्दै
धनपर्वत बनाएर​
बिजयपतका फहराउने
जुङ्गाका रेखीसंगै पलाएका सपना
खैर​
धनकुबेरका कल्पना गर्नेलाई
कसैले सिकाएनन्
हत्केलामा थोपा-थोपा संगाल्नु
अनि सागर भरिन्छ भनेर​
कमसेकम​
हिऊँदे तुसारोले
केश सेताम्य हुँदा
आवश्यकताका गास त खोज्नुपर्थेन​

मामाघर​


सम्झनाका
हिमचुलीहरु मध्ये
एक सगरमाथा पनि छ​
जो जहिल्यै झल्किरहन्छ​
मन​-मष्तिस्कमा
सागरका ज्वारभाटा सरि
अनि
ब्यूँताउँछन यादका अवशेषहरु
बिल्कुलै आजै जस्तो
जहाँ
दिनभरीको थकित यात्राको अन्तिम बिन्दुमा
सुस्केरासंगै
आगनछेउ डिलमा पुग्दा
प्रेमको कल्पवृक्ष देखिन्थ्यो
बाल्यकाल र मामाघर​
जहाँ
इन्द्रका चौरासी व्यञंजन नभै
हजुरआमाको
एक गास जाउलोमा तृप्ति थियो
हजुरबाको आँपे सुनेर​
बगैँचा र बार्दलीको दुरी मेटिन्थ्यो
खैर​
दशक भैसकेछ​
जाउलो र आँपे सङ्गै बगैँचा छुटेको
के जाउलोको तृप्ति
अनि आँपेको आनन्द​
फेरि फर्केलान खै?

Saturday, April 4, 2020

भङ्ग​



परदेशी
तिम्रो भूमिमा
जवानी बेचेर​
केहि बसन्त गुजारेर​
अलिकती शिक्षा
अनि थोरै धन कमाउन चाहन्छ​
अनि
खरिद्न चाहन्छ
तिम्रो महङ्गाईमा
एक थान भविष्य र खुसीका पलहरु
कतै तिम्रो
एक निमेषको
निर्णयले
परदेशीको सपना त उजाडिदैन​​
ॠषिमनले
एकपटक​
परदेशीको भावना अवश्य छुनु है