सम्पूर्ण आमाहरुमा समर्पित
मेलाखर्चलाई
आमाले
पोको पारेको एक घान मकै खाँदै
आमाको भारीमाथि चढिहिड्ने हामी
आमा भोक लाग्यो ? भनेर कहिल्यै सोधेनौँ
हामीले आमाको मुख
कहिल्यै हेरेनौ
हेरेको भए
आमाका भारीहरु
हामी आफै बोकिदिन्थ्यौँ होला
आमा
पृथ्वीझैँ घुमिरहिन
हाम्रा सपना हेतु
पैतलाले धाँजा फाटेर
ढुङ्गा टिपेपनि
आमा
डल्ले चौपारीमा कहिल्यै बिसाइनन
आमाले इश्वरसंग
कहिल्यै मागिनन आफ्ना लागी
सुखका वरदानहरु
के आमाका भावनामा
सुखका ज्वारभाटाहरु कहिल्यै पलाएनन
या
आमाका सपनाहरु सबै
भष्मासुरका ग्रन्थमा परे
हामीले कहिल्यै सोधेनौ
आमाका सपनाहरु
आमाको औँला समाएर
जीवनको यात्रा सुरु गरेका हामी
आमा
आज त्यहि बुढो झ्यालबाट
त्यहि गोरोटो हेर्दैछिन
जहाँ हामी हिड्थ्यौँ
हात समाउन आउलान कि भनेर
आमाको मुख हेर्ने दिन
No comments:
Post a Comment