Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Monday, May 11, 2020

परिवार​


एक
मुट्ठी आकाशमा खेलेका हामी
कोहि सुर्य​, जुन र तारा थियौँ
एक वेग
हुरीले हामीहरुलाई बगाएर लगे
सपनाको अलग अलग किनारामा
हामीले टेक्ने
धर्ती त एउटै छ नी?

Saturday, May 9, 2020

जिवन बचाउनेहरु

सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा समर्पित एक सम्मान हेतु

जिवन बचाउनेहरु

भोक र भोजन​
निन्द्रा र बिछ्यौना
थकान र विश्रामको
मध्यविन्दुमा उभिएकाहरु
मृत्युले काख च्याप्नै लागेकाहरुमा
प्राण भरेर जिवन फर्काउनेहरु
मानौ
उनीहरु त्यसैका लागि हुन​
अनेक पाटाहरु छुटेर आएजस्तो

उनीहरु कुनै ईश्वर होइनन​
उनीहरुलाई देवत्वको कुनै आशा छैन​
उनीहरुलाई
प्रतियोगिताको ताज पनि पहिरिनु छैन​
उनीहरुलाई
स्वार्णिम अक्षरले
अमरता लेखाउनु पनि छैन​
उनीहरु कुनै सिपाहि होइनन​
तर लडिरहन्छन​

हो
महाभारतका अश्विणीकुमार यिनै हुन​
रामायणका सुषेन यिनै हुन​
युद्द न महामारी
जिवन र मरणको संग्राममा
उभिएर​
जिवन फर्काउने फ्लोरेन्स  नाइटिङ्गेलहरु यिनै हुन​
हो
संजिवनी बुटीको पर्वत उठाउने हनुमान यिनै हुन​
केवल बचाउनका निम्ति
उनीहरुले मृत्युभूमिमा जिवनको आवश्यकता देखे
महामारीमा
साहाराका अन्तिम लाठी बने
किल्लामा लड्नेहरु त अमर भ​ए
के
अस्पतालमा लड्नेहरुको गित कसैले गाउँदैनन्??




Monday, May 4, 2020

राजनीति


कुहिरोको
सिरक ओढेका
हामीहरुलाई
आकाशको बाँध बाँधेर​
ताराहरुले मुट्ठी भर्न उठायौ
स्वासहरुको सिँढी चढेर
तिमी
तारामण्डल पुगेछौ
हाम्रा हत्केला अझै खाली छन​
हामी
ताराहरु हेरेर​
तिमीलाई नै खोज्दै छौँ

Friday, May 1, 2020

मजदुर

मजदुर दिवशको सबैलाई शुभकामना

बाबु
सम्राटका
स्वप्नहरुले
अमृतको लोभ देखाएर​
भोकहरुको सैनिक निकाले
इन्द्रासनको संग्राममा
भोकाहरु मारिए
सम्राट​
चक्रवर्ती भ​ए रे
जोगीहरुले
चिरञ्जिवी र विजयी भवः सम्राटलाई भने
सायद​
ईश्वरधारीहरुले धर्म बचाउन ईश्वर गुमाए

सम्राटले लेखाए
किल्ला र पानाहरुमा
भोकाहरुका रगतले
जनयुद्दका
स्वतन्त्रताका
परिवर्तनका
क्रान्तीका
बहुदलका
गणतन्त्रका
राज्यका, बिरताका र विजयका
गाथा गर्विला भनेर​
कोमल मष्तिस्कका पानाहरुमा
गर्विला भनिएका ति वर्वरताका अवशेषहरुलाई
छापाखानाहरुले
हरेक बिहान छापिरहे
अमर भन्ठानेर​

जीवनका मालीहरुले
पिडाले धर्तीको धाँजा फाटेको देखेर​
बादलहरु रुँदा
कुटो, कोदालो
हंसिया, हतौडा
हलो, जुवा
लिएर आए
अनि लगाए छातीमा हरियालीको मलम​
जीवनका खेतहरुमा
पसिनाका नहर बगाएर​
अनन्त प्राणहरु उमारे
मालीका इतिहास कहिल्यै लेख्नुपरेन​
उनीहरु युगौँयुग सम्म जीवन्त रहे
खैर​
इतिहास त केवल मर्नेहरुको लेखिन्छ

त्यसैले बाबु
हलो र हतियारमा
हलो नै उठाउनु
हलो उठाउनेहरुले इन्द्रेणी फलाएर​
सुन भित्र्याए
हतियार उठाउनेहरुले सधैँ ग्रहण देखे
किल्लाहरुलाई सोध्नु जस्ले हतियार उठाए
त्यहाँ पलपल रक्तकुण्डका चित्कार सुनिन्छन​
मनहरुका प्रेमिला नाद त्यहाँ कहिल्यै सुनिन्नन​
त्यसैले त त्यो खण्डहर छ​
त्यहाँ जीवनको बिज कहिल्यै उम्रिएन​

बाबु
मालिक र मजदुरीमा
मजदुरी रोज्नु
मजदुरका सपना माटोसंग छ​
मालिकका ईन्द्रासनसंग​
बाबु
ईन्द्रासन त कल्पना न हो
हामी त केवल माटोका पुत्ला न हौँ

बाबु
रगत र पसिनामा
जहिले पसिना बगाउनु
रगत बगाउनेहरु निर्जीव इतिहासका पानामा परे
उनीहरुलाई नपल्टाए कुनै अस्तित्व छैन​
तिमी बिउ रोपेर हेर्नु
हामी पसिनाका बागका पुष्प न हौँ
ति सधैँ मग्मगाइरहन्छन​, जग्मगाइरहन्छन​
पसिना बगाउनेहरु
हरेक पुष्पमार्फत मुस्कुराइरहन्छन​
संसार बनाउनेहरु, संसार बचाउनेहरु

Saturday, April 25, 2020

गहिराई



म​
औँसीको रातमा
ताराहरुको बात सुन्न​
अनि
आकाशको सुन्यतामा समाउन​
गौचरणमा लम्पसार परेर सुतेँ
पलभरमै
सुर्यका किरणहरुले क्षितिजबाटै
रङ्ग बर्साएर भने
"ए तेरो रात सकियो"
खैर
जीवनको सिमानामा जो बाँधिएको थिए


Wednesday, April 22, 2020

आमा

सम्पूर्ण आमाहरुमा समर्पित​

मेलाखर्चलाई
आमाले
पोको पारेको एक घान मकै खाँदै
आमाको भारीमाथि चढिहिड्ने हामी
आमा भोक लाग्यो ? भनेर कहिल्यै सोधेनौँ
हामीले आमाको मुख​
कहिल्यै हेरेनौ
 हेरेको भ​ए
आमाका भारीहरु
हामी आफै बोकिदिन्थ्यौँ होला

आमा
पृथ्वीझैँ घुमिरहिन​
हाम्रा सपना हेतु
पैतलाले धाँजा फाटेर​
ढुङ्गा टिपेपनि
आमा
डल्ले चौपारीमा कहिल्यै बिसाइनन​
आमाले इश्वरसंग​
कहिल्यै मागिनन आफ्ना लागी
सुखका वरदानहरु

के आमाका भावनामा
सुखका ज्वारभाटाहरु कहिल्यै पलाएनन​
या
आमाका सपनाहरु सबै
भष्मासुरका ग्रन्थमा परे
हामीले कहिल्यै सोधेनौ
आमाका सपनाहरु

आमाको औँला समाएर
जीवनको यात्रा सुरु गरेका हामी
आमा
आज त्यहि बुढो झ्यालबाट​
त्यहि गोरोटो हेर्दैछिन
जहाँ हामी हिड्थ्यौँ
हात समाउन आउलान कि भनेर​
आमाको मुख हेर्ने दिन​

Monday, April 13, 2020

नववर्ष​


छोरी
तिमी जन्मिदा
हामीसंग​
आवश्यकताका ठूला खाडल​
अनि सपनाका सगरमाथा थिए
तिमी आयौ
हामीले सबै बिर्सियौँ

खन्यौँ
तिम्रो भविष्यका गोरेटो
आगनको डीलमा
जीवनको थकानले लट्ठी टेक्दा
तिमी
नेपथ्यबाट फर्किएर एकपल्ट हाँस्नु है