कालापानी
अबरोधका बेगर
मेरो कालापानीले
मेरै पहरा फुटाएर
गङ्गाको मूल फुटाइन
अनि बगाइन
तिम्रो तातो रुग्ण उजाड बस्तिमा
एक अञुंली जलले
आफ्नो गहिरो प्यास मेटायौ
एक अञुंली जलले
अन्न-फल फलायौ
एक अञुंली जलले
कालो रातहरु उज्यालो बनायौ
भविष्यका गोरेटाहरु कोर्यौ
मेरो कालापानीको हिमाली कोखबाट
गङ्गाले
एक हुल चिसो सिरेटो
तिम्रो बस्तिलाई कोसेली दीइन
त्यहि कोसेलीले
निधारका बक्ररेखामा बगेका
पसिना सुकायौ
अनि शितल लामो सास फेर्यौ
र एक दिन
तिम्रो बस्तिबाट
एक हुल तातो हावाको लहरले
मेरो कानमा सुस्केरा हालेर गयो
अनि बुझेँ
मैले सगरमाथाको हृदय खोलेर
तिम्रो बस्तिमा बाहार ल्याएँ
तर
तिम्रो हृदयको गहिराईमा
एक पग धुलो नअट्ने रहेछ
तिम्रो बस्ती सजाएकी गङ्गाले
तिम्रो रुग्ण हृदय परिवर्तन नगरि
नुनिलो समुन्द्र पुगिसकिछन
त्यसैले
तिमीले मेरो कालापानी खोस्न खोज्दै छौ?
मबाटै
मेरै कालापानीको जलमा
डुबुल्कि मारेर पाप मेटायौ, पुण्य कमायौ
अस्ति सेलाएर
पुर्खालाई स्वर्ग पुर्यायौ
कालापानीले त शान्तिको सन्देश बगाउँछिन
र आज तिमी त्यहाँ
रक्त बगाउन खोज्दै छौ?
तिम्रै रक्षार्थ
तिम्रो सिमानामा मेरो
छातीको पर्खाल लगाएको छु
त्यहि पनि अझै
कालापानी खोस्न खोज्यौ भने
चेतना भया
मेरा पाखुराले पनि
हिमालको उचाई थामेर बसेका छन
त्रिभुवन ढकाल
२०७६।०८।०९
मेलबर्न
No comments:
Post a Comment